पेट्रोलमा दुई र डिजेलमा एक रुपैयाँ बढ्यो
जन्मभुमि खबर ,
पोखरा ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएकाे भन्दै निगमले पनि मूल्य बढाएकाे हाे । निगमका अनुसार भारतबाट पेट्राेलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्य बढेर आएकाे छ ।
हवाइ इन्धनको मूल्य भने घटेको छ । निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ ।
यससँगै अब पोखरामा पेट्रोलको मूल्य काठमाडौं, र दिपायलमा १ सय ५९ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने पेट्रोलको मूल्य १ सय ५६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।
त्यस्तै, अब पोखरामा डिजेल र मट्टितेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १ सय ४३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने डिजेल र मट्टितेलको मूल्य १ सय ४२ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने डिजेल र मट्टितेलको मूल्य १ सय ४० रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।
