जन्मभुमि खबर ,
पोखरा ।
जिल्ला प्रहरी कास्कीले प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर उडान गरे/नगरेको परीक्षण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाममा गुनासो पछि प्रहरीले मापसे र लापसे परिक्षण गरेको हो ।
प्याराग्लाइडिङ उडान हुने पोखरा २४ स्थित मान्द्रेढुंगा पुगेर प्रहरी, व्यवसायी र पाइलट क्लबका प्रतिनिधिसहितको टोलीले उनीहरूको परीक्षण गरेको हो ।
सो क्रममा एकजनाले मादक पदार्थसँगै लागुपदार्थ सेवन गरेको भेटिएको प्रहरीले जानकारी दिएको छ । ३९ जनाको परिक्षण गर्दा ३८ जनाले केही सेवन नगरेको भेटिएको कास्की प्रहरी प्रमुख श्याम बाबु ओलियाले जानकारी दिए । उडानका लागि तयारी अवस्थामा रहेका पाइलट विशालबहादुर क्षेत्रीले मापसे र लापसे दुवै सेवन गरेको फेला परेको छ ।
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिले केसीले आफूहरूले सुरक्षालाई पहिलो प्राथमिकता दिएर उडान गरिरहेको बताए । नागरिक उड्डयन प्राथिकरणले समेत वेला–वेलामा मापसे र लापसे परीक्षण गर्ने उनले जानकारी दिए । यसरी हुने अनुगमनले पेसाप्रति पाइलटहरूलाई अझ जिम्मेवार बनाउदै उडानलाई सुरक्षित बन्न सहयोग पुग्ने उनले बताए ।
पोखरामा लाइसेन्स लिएका चार सयभन्दा बढी पाइलट रहे पनि हाल दुई सय ७० जनाले उडान गर्ने गरेका छन् ।