जन्मभुमि खबर ,
पोखरा ।
ट्राफिक प्रहरीबाट एकजना सर्वसाधारणमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ ।
भाइरल बनेको भिडियोमा एक ट्राफिक प्रहरीले एक सर्वसाधारण व्यक्तिलाई लडाएर लात्ती हानेको देख्न सकिन्छ ।
बिहीबार अपराह्नतिरदेखि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएको भिडियोमा ती व्यक्तिको मुखबाट रगत पनि आएको देखिन्छ ।
त्यति गर्दा पनि ती ट्राफिक प्रहरीको रिस नमरेपछि कागजपत्र फालेको देखिन्छ । घटना सडक किनार क्षेत्रमा भएको अनुमान गर्न सकिन्छ । १८ सेकेन्डको भाइरल भिडियोमा त्यसरी कुटपिट हुँदा वरिपरी चार जना ट्राफिक प्रहरी देखिएका छन् । कुटपिट गर्ने ट्राफिक प्रहरीका जवान हुन् । त्यहाँ ट्राफिक प्रहरीको हवल्दार पनि देखिन्छन् । तर, त्यसरी कुटपिट गर्दा रोक्ने कोही देखिएन ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले भिडियो सामाजिक सञ्जालमा आएलगत्तै अनुसन्धान थालिएको बताए ।
“सामाजिक सञ्जालमा आएको भिडियो पुरानो हो भन्ने छ । ज्याकेट पनि लगाएकाले जाडो महिनाको हुनसक्ने भन्ने छ । तर, घटना कुन ठाउँको हो भन्ने पत्ता लागेको छैन,” उनले भने ।