जन्मभुमि खबर ,
पोखरा ।
नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरिएका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई पदबाट हटाउनुको मुख्य कारण विद्युतको बक्यौता उठाउनु रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले १८ घण्टाको लोडसेडिङ हटाएको तर व्यापारीहरुले नतिरेको बक्यौता उठाउन खोज्दा सरकारले नै आफूलाई हटाएको बताएका हुन् ।
घिसिङले आफू विचलित नभएको प्रतिक्रिया दिएका छन् । ‘सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायो, म जिम्मेवार नागरिकका रुपमा कैले कम हुने छैन,’ उनले भनेका छन्, ‘राज्यको सबै शक्ति ममाथि खनाइयो, यसमा जनता आफैं प्रष्ट छ, सार्वभौम संसद् दुरुपयोग गरियो, यसबाट म विचलित भएको छैन ।’
‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ । सार्वजनिक निकायको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ?’, घिसिङले प्रश्न गरे, ‘यसको जवाफ पनि नेपाली जनता र इतिहासले आगामी दिनमा अवश्य माग्ने छ ।’