जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

महाकुम्भबाट फर्किदै गरेको स्कर्पियो दुर्घटना : चार नेपालीको मृत्यु, ६ जना गम्भीर घाइते

जन्मभुमि खबर ,
पोखरा ।

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार स्कर्पियो दुर्घटना हुँदा सप्तरीका तीनजना र सुनसरीका १ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का लिलावती चौधरी र परशुराम चौधरी रहेको वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए । यस्तै वडा नम्बर ५ का जितु यादवकी श्रीमती हरिहरदेवीको पनि दुर्घटनामा मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि मृत्यु भएको सुनसरीका एसपी सुमन तिमिल्सिनाले जानकारी दिए ।

सप्तरीका प्रहरी प्रमुख खतिवडाका अनुसार दुर्घटनामा मृत्यु भएको खबर आएका परिवारका सदस्यले सप्तरीको धरमपुरस्थित प्रहरी चौकीमा शनिबार बिहान जानकारी गराएको र थप बुझने कार्य भइरहेको बताएका छन् ।