जन्मभुमि खबर ,
पोखरा ।
ठमेलमा प्रहरीमाथि आक्रमण गरेको आरोप लागेका नेकपा (एमाले)को भातृसंगठन अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरका एसपी अपिलराज बाेहराले जाेशी पक्राउ परेकाे पुष्टि गरे ।
माघ २४ गते गते ठमेलमा ड्युटीमा रहेका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीमाथि आक्रमण भएको थियो । उक्त घटनामा अमृत साइन्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव रमेश फुलारा र दिनेश सिग्देललाई प्रहरीले पक्राउ गरिसकेको छ ।
त्यस्तै अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपालबहादुर शाही, क्याम्पस कमिटी सदस्य नवीन ऐर र शौजन्य शाहीलाई प्रहरीले फरार सूचीमा राखेको छ ।
तर सिसिटिभीमा देखिएका कमल जोशीलाई प्रहरीले फरार सूचीमा राखेको थिएन ।
एमाले निकट जोशीलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै चर्को आलोचना भएपछि गृहमन्त्री रमेश लेखकले पक्राउ गर्न निर्देशन दिएका थिए । र अहिले जोशी पक्राउ परेका छन् ।