जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालमा २५ हजार माछाका भुरा छाडियो

जन्मभुमि खबर ,
पोखरा ।

विश्व सिमसार दिवसको सन्दर्भ पारेर पोखराको फेवातालमा माछाका भुरा छाडिएको छ ।

पोखरा महानगर पालिका वडा नं–६ को आर्थिक सहयोग र हर्पन फेवा मत्स्य सहकारी संस्थाको को आयोजनामा फेवा तालमा २५ हजार माछाका भुरा आइतबार छाडिएको छ ।

स्थानीय जलारी समुदायको आयआर्जनमा सघाउ पुर्‍याउदै फेवातालको पर्यावरणीय सन्तुलन बढाउनका लागि पोखरा महानगरपालिका को वडा स्तरीय बजेटबाट रु १ लाख ५० हजार रुपैयाँका माछाका भुरा खरिद गरि तालमा छाडिएको वडा सदस्य बासु बरालले जानकारी दिए । स्थानीय जातका सिल्भर कार्प, विगहेड, ग्रास कार्प, रहु, र नैनी माछाका भुरा तालमा छाडिएको हो ।

कार्यक्रमका अतिथि एवंम पोखरा महानगर पालिका वडा नं–६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यावरणीय असन्तुलनका साथै फेवाताललाई जीवन्त तुल्याउँदै स्थानीय जलारी समुदायको पेशाको समेत संरक्षण गर्न वडाको तर्फबाट सहयोग गरिएको बताए ।

अध्यक्ष भट्टराईल फेवा ताललाई प्रदुशण मुक्त बनाइ तालमा पाइने माछालाई ब्रान्डिङ गर्नु पर्ने बताए । बर्षेनी वडाको बजेट मार्फत माछाका भुरा छाडदै आएको स्मरण गर्दै ताल सँग आर्शित जलारी समुदायको पेशालाई संरक्षण गर्ने वडा कार्यालय लागि परेको बताए ।

हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञान बहादुर जलारीले जलारी समुदायको लागि आज धान रोपाइँको दिन असार १५ भएको बताए । उनले वडा नम्बर– ६ बाट भुरा छोड्ने कामलाई बडाले वार्षिक क्यालेन्डरको रुपमा राखेकोमा खुसी लागेको भन्नु भयो । जलारी समुदायको जीवन आर्थिक रूपमा सबल बनाउनका लागि ताल र सिमसार क्षेत्रको संरक्षक लागि ३ वटै सरकारलाई सहयोग गर्ने आग्रह गरे ।

कार्यक्रममा हर्पन फेवा मत्स्य सहकारी संस्थाका उपाध्यक्ष राजु जलारी, पोखरा महानगर पालिका वडा नं–६का वडा सदस्यहरू पवित्रा थापा र शोभा जलारी लगायतले आफ्ना भनाइ राखेका थिए । सो अवसरमा स्थानीय जलारी समुदाय, आमा समूह र स्थानहरूको उपस्थिति रहेको थियो ।