जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकपको तयारी पुरा , यस वर्ष मनाङ मर्स्याङदी क्लब नखेल्ने

जन्मभुमि खबर ,
पोखरा ।

आगामी मंगलबारदेखि पोखरामा सुरु हुने २४ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक सहारा क्लबले आइतबार बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

कार्यक्रममा प्रतियोगिताको ट्रफी र जर्सी सार्वजिनक गरिएको छ। प्रतियोगिता मंगलबारदेखि पोखरा रंगशालामा सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।

१२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्ससहित ‘ए’ डिभिजन टोलीका साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन् ।
साथै आयोजना सहारा, एपीएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको यो संस्करणमा मनाङ मर्स्याङदी क्लब भने सहभागी हुने छैन। मनाङ ७ पटकको उपाधि विजेता टोली हो ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा प्रिक्वार्टरफाईनलका खेल हेर्न साधारणतर्फ  १ सय र भीआईपीतर्फ २ सय रुपैयाँ टिकटदर तोकिएको छ ।

सेमिफाइनलमा साधारणतर्फ दुईसय  र भीआईपीतर्फ चारसय रुपैयाँ लाग्नेछ ।

फाइनलका दिन साधारणतर्फ तीनसय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतियोगिताबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बालबालिकाका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता माघ २२ देखि फागुन ३ गतेसम्म चल्नेछ ।