पेट्रोलको मुल्य बढ्यो , डिजेल र मट्टीतेलको मुल्य भने घट्यो
जन्मभुमि खबर ,
पोखरा ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हाे । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५९ रुपैयाँ ५० पैसा पर्नेछ । यी स्थानमा डिजल र मट्टीतेलको मूल्य १४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजल र मट्टीतेलको मूल्य १५० रुपैयाँ पर्नेछ ।
योसँगै तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल डिपो अन्तर्गतका पम्पमा पेट्रोलको मूल्य १६२ रुपैयाँ पर्नेछ । यी क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।
