जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

धनगढीबाट काठमाडौंका लागि उडेको जहाज जब पोखरा पुग्यो…

जन्मभुमि खबर ,
पोखरा ।

शुक्रबार बिहान धनगढी विमानस्थलबाट संघीय राजधानी काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको एउटा जहाज डाइभर्ट भएर पोखरा विमानस्थलमा अवतरण भएको छ।

धनगढीबाट शुक्रबार बिहान १० बजे काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको नाइन एन एएनएस कलसाइनको जहाजलाई डाइभर्ट गरेर पोखरामा आकस्मिक अवतरण गराइएको हो।

उक्त जहाजको इन्डिकेटरमा समस्या देखिएपछि जहाजलाई डाइभर्ट गरेर पोखरा लगिएको हो।

काठमाडौं हिँडेको जहाज पोखरामा आकस्मिक अवतरण गराइँदा यात्रुहरू त्रसित भएका थिए। उक्त जहाज पोखरामा अवतरण गरिएपछि काठमाडौं हिँडेका यात्रुले त्यसमा सवार हुन अस्वीकार गरेका थिए ।

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले इन्डिकेटरमा समस्या देखिएकाले काठमाडौंका लागि उडेको जहाजलाई डाइभर्ट गरी पोखरा अवतरण गराइएको बताए ।

जहाजको चेकजाँच सकिएपछि पोखराका यात्रु राखेर काठमाडौं आइसकेको छ । उक्त जहाज धनगढीबाट सवा ९ बजे उड्ने तालिका थियो ।

तर १० बजे मात्रै उडेको जहाज पोखरा पुगेको हो । तर प्राविधिक जाँचपछि उड्न तयार जहाजमा धनगढीबाट आएका यात्रुले फेरि चढ्न मानेनन्। त्यसपछि पोखराका यात्रु बोकेर जहाज काठमाडौं अवतरण भइसकेको छ ।