जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेबारे सांकेतिक उजुरी आएको छ, कुनै तथ्य प्रमाण छैन प्रहरी महानिरीक्षक कुँवर

जन्मभुमि खबर ,
पोखरा ।

सहकारी ठगीको विषयमा पोखरामा ठाडो उजुरी आएको तर तथ्य र प्रमाण नभएको नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले बताएका छन् ।

प्रहरी महानिरीक्षक भन्छन् : रवि लामिछानेबारे सांकेतिक उजुरी आएको छ, कुनै तथ्य प्रमाण छैन
राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा महानिरीक्षक कुँवरले पोखरामा ठाडो उजुरीमा रवि लामिछानेको नाम पनि रहेको तर तथ्य र प्रमाण नरहेको स्पष्ट पारे ।

सहकारी समस्या पछिल्लो समय व्यापक रूपमा आइरहेको र सहकारी विभागको सिफारिसमा मुद्दा चलाइरहेको भनेपछि महानिरीक्षक कुँवरले पोखरामा रवि लामिछानेको विरुद्धमा ठाडो उजुरी आएको बताएका हुन् । ठाडो उजुरीमा नाम रहेकाहरू कानुनी दायरामा पर्ने अवस्था नरहेको पनि कुँवरले बताए । ‘ठाडो उजुरीको रूपमा कानुनी दायरमा पार्ने अवस्था छैन । सांकेतिक रूपमा आएको छ, रवि लामिछानेको नाममा त्यसमा कुनै तथ्य, प्रमाण आएको छैन,’ महानिरीक्षक कुँवरले भने ।

ठाडो उजुरीमा तथ्य नआएको महानिरीक्षक कुँवरले दोहोर्‍याएका थिए । महानिरीक्षक कुँवरले सहकारीको समस्या व्यापक भएको पनि बताए । सहकारीका कारण कतिपयको आर्थिक अवस्थामा समस्या आएको उनले बताए । सहकारी समस्या समाधान गर्नका लागि माथिल्लो तहबाट नै नीतिगत रूपमा विभिन्न काम भएको बताए ।

पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक जीबी राईलाई पक्राउ गर्न प्रयत्न भए पनि सफल हुन नसकेको कुँवरले बताए । उनले जीबी राई मलेसियामा रहेको र उक्त देशसँग सुपुर्दर्गी सन्धि नभएकाले ल्याउन समस्या भइरहेको बताए ।