जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शालिन पोखरेलको अन्त्येष्टि गरियो , सुसाइड नोट उनैले लेखेको पुष्टि

जन्मभुमि खबर ,
पोखरा ।

विद्यालयको छात्रावासमा मृत फेला परेकी छात्रा शालिन पोखरेलको अन्तिम संस्कार गरिएको छ । मंगलबार पशुपति आर्यघाटमा पोखरेलको अन्त्येष्टि गरिएको हो ।

मृतकका पिताले छोरीको पार्थिव शरीरमा दाग बत्ती दिएका थिए । त्यहाँ उपस्थित आफन्तले शालिनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै न्यायका लागि माग गरेका थिए ।

यता पोखरेल मृत्यु प्रकरणमा पक्राउ गरिएका शिशु निकेतन स्कुलका प्रिन्सिपल सहित ३ जनालाई अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालतबाट थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले बताए ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् । उनको हत्या भएको किटानी जाहेरीको आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

मृत्यु प्रकरणमा फेला परेको सुसाइड नोट उनैले लेखेको पाइएको छ।

मंगलबार आएको रिपोर्टअनुसार सुसाइड नोट शालीनले नै लेखेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार सुसाइड नोटको परीक्षण गर्न कार्यालयले नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी, काठमाडौंमा पठाएको थियो ।

सुसाइड नोटसँगै प्रहरीले शालीनको नोट कापी र उत्तरपुस्तिका पनि पठाएको थियो। तीनै वटामा शालीनले नै लेखेको रिपोर्ट प्रहरीले प्राप्त गरेको हो। प्रयोगशालाले त्यसको रिपोर्टमा ‘कमन अर्थर’ अर्थात एकै लेखकले लेखेको भनेर रिपोर्ट पठाएको हो ।

उनले आफ्नो नोटमा ‘एभ्रिबडी आई एम सरी!’ लेखेको प्रहरीले जनाएको छ।

यसअघि आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दिएको पोष्टमर्टम रिपोर्टमा पनि शालीनको झुण्डिएर मृत्यु भएको उल्लेख थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि उनको झुण्डिएर मृत्यु भएको देखिएको थियो। तर मृतकका परिवारले हत्या र बलात्‍कार भएको दाबी गरेको थियो।