जन्मभुमि खबर ,
पोखरा ।
बाँदर नियन्त्रणका लागी रुख काट्ने वडा कार्यालयको अभियानमा पोखरा महानगरपालिकाले रोक लगाएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले बाँदर नियन्त्रणका लागी रुख काट्ने अभियान सुरु गरेको थियो ।
तर, महानगरपालिकाबाट कुनै निर्णय नभएको भन्दै रुख काट्ने, फाँड्ने नगर्नु, नगराउन महानगरपालिकाले निर्देशन दिएको हो ।
महानगरपालिका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत रुख काट्ने, फाँड्ने काम नगर्न निर्देशन दिएको जनाएका छन् ।
‘आफ्नो रुख आफै काटौँ अभियान’ भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएको ले सो सम्बन्धी कुनै पनि कार्य (रुख काट्ने फाँड्ने) नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ’, उनले लेखेका छन् ।
वडा कार्यालयले सोमबार सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न आग्रह गरेको थियो ।