जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्वस्थानी व्रतकथा आजदेखि प्रारम्भ

जन्मभुमि खबर ,
पोखरा ।

आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् ।

वैदिक सनातन धर्मावलम्बी पनि विशेषगरी नेपालमा बसोवास गर्नेले नै यो पर्व मनाउँछन् । भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन् । यसैले यो नेपालकै मौलिक परम्पराको रुपमा रहेको छ । नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । कुल परम्परा अनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल , १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

सय रोटी वर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने, सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।

आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

“स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”–उहाँले भन्नुभयो ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।