जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : राइजिङ स्टारलाई हराउँदै आर्मी क्वाटर फाइनलमा प्रवेश

जन्मभुमि खबर ,
पोखरा ।

२३ औं संस्करणको आहा रारा गोल्ड कपमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लब क्वार्टर फाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा नवलपरासीको राइजिङ स्टार क्लबलाई १-० ले हराउँदै आर्मी क्वार्टर फाइनलमा पुगेको हो ।

आर्मीलाई जिताउन खेलको एक मात्र गोल भरत खवासले २७ औं मिनेटमा गरे ।

मोफसलको र स्टार खेलाडी नभए पनि राइजिङ स्टार क्लबले आर्मीसँग प्रतिस्पर्धात्म खेल खेलेको थियो । आर्मीले आइतबार हुने क्वार्टर फाइनलमा संकटा क्लबसँग खेल्ने छ ।

भोलि बिहिवारको खेल मछिन्द्र क्लब र जावलाखेल युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनमै २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै आयोजकले प्रत्येक खेलखेलवापत अतिरिक्त प्रोत्साहन रकम पनि दिँदै आएको छ । जसअनुरुप प्रि–क्वाटर विजेता र पराजित दुवै टिमले समान २० हजार रुपैयाँका दरले पाउनेछन् ।

क्वार्टरफाइनलमा विजेता र पराजित दुवै टिमले समान ३० हजार रुपैयाँ र सेमिफाइनलमा विजेता र पराजित दुवै टिमले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए ।

= विद्यार्थीलाई प्रवेश निशुल्क, प्रत्येक दिन २ जना दर्शक पुरस्कृत हुने

२३ औं संस्करणको आहारारा पोखरा गोल्डकप हेर्न आउने विद्यार्थीहरुलाई क्वार्टरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक सहाराका अध्यक्ष केवशराज बरालले जानकारी दिए ।

विद्यार्थीहरुले निशुल्क प्रवेश पाउन विद्यालयले आयोजकसँग समन्वय गर्नुपर्नेछ भने अनिवार्य विद्यार्थी पोशाकमा उपस्थित हुनुपर्नेछ ।

त्यस्तै, आयोजकले प्रत्येक दिन २ जना दर्शकलाई पुरस्कृत पनि गर्ने भएको छ । प्रत्येक दिन गोलाप्रथाबाट चुनिएका २ जना दर्शकलाई ५ /५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

सहारा क्लबले फुटबल टुर्नामेण्टबाट एकेडेमी चलाउँदै आएको छ । एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । २३ औँ प्रतियोगिता माघ ९ गतेदेखि २० गतेसम्म पोखरा रङ्गशालामा हुने अध्यक्ष केशवराज बरालले जानकारी दिए । प्रतियोगिता सञ्चालनमा उद्योगपति तथा पूर्व सांसद स्व.सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई पोखरा महानगरले कार्यपालिकाबाटै निर्णय गरेर संरक्षकत्व दिएको छ । सहाराले विभिन्न देशमा शाखा खोलेको छ । उनीहरूकै सहयोगबाट प्रतियोगिता चल्दै आएको छ । एन्फाले प्रतियोगिता चलाउन मैदान निःशुल्क दिएको छ ।