जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विन्ध्यवासिनी धार्मिक क्षेत्रलाई श्रीपती समाजसेवा पुरस्कार

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति श्रीपती समाज सेवा पुरस्कार– २०८० बाट पुरस्कृत भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित सो पुरस्कार विन्ध्यवासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समर्पित समितिलाई शनिबार अर्पण गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोइरालालगायतले समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्यसचिव तीर्थ श्रेष्ठलाई नगद रु दुई लाख २२ हजार दुई सय २२ ताम्रपत्र, दोसल्ला र पदकले सम्मान गरे।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति प्रमुख शक्तिपीठहरूमध्येमा पर्दछ । समितिले मन्दिरको संरक्षण, विकास, विस्तार र सौन्दर्यकरणमा काम गरिरहेको छ । समितिले बहुउद्देश्यीय सत्सङ्ग भवन, विन्ध्यवासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञमण्डप र पूजामण्डप, विन्ध्यावासिनी बौद्धिक विद्याश्रम, विभिन्न देवीदेवताका मठमन्दिर निर्माण गरेको छ ।

यसैगरी विन्ध्यवासिनी गुरुकूल विद्याश्रम निःशुल्क आवासीयरूपमा सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक सेवा केन्द्रको रूपमा दिवा सेवासमेत सञ्चालनमा छ । प्राकृतिक चिकित्सालय, एम्बुलेन्स सेवा तथा शारीरिक असक्षमता भएका नागरिक र ज्येष्ठ नागरिक मन्दिर दर्शनका लागि विद्युतीय भर्याङ राखेर समाज सेवा गरेका कारण समितिलाई पुरस्कृत गरिएको गुठीका सदस्यसचिव नवराज कोइरालाले बताए।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माइती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत भइसकेका छन् ।