जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माछापुच्छ्रेमा अध्यक्ष कप भलिबल पुस २६ देखि , विजेतालाई ३ लाख पुरस्कार

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ । गाउँपालिकाको खेलकुद विकास समितिले दोस्रो संस्करणको अध्यक्ष कप आयोजना गरेको हो ।

घाचोकमा पुस २६ देखि २८ गतेसम्म प्रतियोगिता चल्नेछ । विजेताले उपाधिसँगै ३ लाख रुपैयाँ प्राप्त गर्ने गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले जानकारी दिइन् । उनका अनुसार उपविजेताले २ लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछ ।

सेमिफाइनलमा पराजित २ समूहले ५०/५० हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाउनेछ । उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई ५/५ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगितामा कम्तिमा गण्डकी प्रदेशका २५ स्थानीय तहको भलिबल समूहले सहभागिता जनाउने अपेक्षा आयोजकको छ । प्रतियोगिता सम्पन्न गर्न १२ लाख ८३ हजार रुपैयाँ लाग्ने अनुमान छ ।

पहिलो संस्करणको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले निसीखोला गाउँपालिकालाई पराजित गर्दै जितेको थियो ।

भुर्जुङखोलामा भएको खेलमा उपाधि जितेको गल्कोटले २ लाख र निसिखोलाले १ लाख २० हजार रुपैयाँ प्राप्त गरेका थिए । यसपालिका पुरस्कारको राशिमा वृद्धि गरिएको हो ।