जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२३ औं आहा रारा पोखरा गोल्डकपका लागि मुल आयोजक समिति गठन

जन्मभुमि खबर ,
पोखरा ।

२३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको लागि आयोजक सहारा क्लब पोखरा तयारीमा जुटेको छ । हिमश्री फुड्सको मुख्य प्रायोजनमा आगामी माघ दोस्रो साता पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित यो फुटबल प्रतियोगिता नेपालमै नियमितरुपमा सञ्चालन हुने एकमात्र प्रतियोगिता हो ।

यसैबीच, मंगलबार क्लबका पूर्व अध्यक्षसहितको कार्यसमिति बैठकद्वारा क्लब अध्यक्ष केशवराज बरालको अध्यक्षतामा ५०२ सदस्यीय मूल आयोजक समिति एवं १०१ सदस्यीय सल्लाहकार परिषद् गठन गरिएको छ । प्रतियोगिता संयोजकमा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र मूल आयोजक कमिटी सदस्यसचिवमा महासचिव रामजीप्रसाद अधिकारी सर्वसम्मत चयन भए ।

यसपालि पनि नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने आयोजकले जनायो ।

प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको निःशुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने अध्यक्ष बरालले बताए ।

गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका हुन् ।