जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका न्यायिक समिति सदस्य २ लाख घुस लिएको आरोप पछि राजीनामा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकामा रहेको न्यायिक समिति सदस्य भावना श्रेष्ठले राजीनामा दिएकी छिन् । उनीमाथि घुस लिएको आरोप छ ।

नेपाली कांग्रेसबाट वडा नम्बर ९ को वडा सदस्य जितेकी भावना श्रेष्ठ न्यायिक समिति सदस्य थिइन् ।

पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको थियो । रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा छ । उक्त विवाद मिलाइदिने भन्दै समितिको सदस्य रहेकी उनले २ लाखको चेक लिएको आरोप लागेको हो । श्रेष्ठले उपमेयर मन्जुदेवी गुरुङलाई समेत रकम दिनुपर्ने बताएकी थिइन् । उपमेयर गुरुङले भने आफुलाइ लागेको आरोप अस्वीकार गरेकी छन् ।

विवादित भएपछि पोखरा वडा नम्बर ९ की वडा सदस्य श्रेष्ठले न्यायिक समितिबाट राजीनामा दिएकी छिन् । शनिवार नै उनले फेसबुकको म्यासेन्जरबाट राजीनामा पत्र पठाएको बताइएको छ । विशेष परिस्थितिका कारण राजीनामा दिएको भनेर उनले पत्र पठाएको उपमेयर तथा न्यायिक समितिकी संयोजक गुरुङले बताइन् ।

‘राजीनामा पत्र आएको छ । विशेष परिस्थितिको कारण भन्नुभएको छ, अरु कारण खुलेको छैन,’ उनले भनिन् ।