जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे ३ दिने आन्दोलन घोषणा

जन्मभुमि खवर,
पोखरा ।

जिल्ला अदालत काठमाडौंले महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुमाथि राज्यविरुद्धको कसुरमा पक्राउ पूर्जी जारी गरेपछि नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको घोषणा गरेको छ ।

राज्यविरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन सूचना जारी गरेपछि नेकपाले तीन दिने आन्दोलनको घोषणा गरेको हो ।

नेकपाका महासचिव विप्लव सीले विज्ञप्ति जारी गर्दै आज साँझ ५.३० बजे मशाल जुलुस, बुधबार ३ बजे न्यायाधीशको पुत्ला दहन, बिहीबार २ बजे देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

‘काठमाडौं जिल्ला अदालतले २०७६साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सी, प्रवक्ता कमरेड प्रकाण्ड सी, पीवीएम कमरेड माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ । अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो ।’ जारी विज्ञप्तिमा भनिएको छ,‘राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ।’

राज्यका सहमतिलाई कानुनको अंग बनाएर समस्याहरुलाई समाधान गर्न मद्दत गर्नुपर्ने अदालतले नै गैर कानुनी कदम चाल्नु भनेको देशमा शान्ति भाड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको विप्लवले उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘आम नागरिकलाई थाहा छ कि प्रतिबन्ध हटाउदा राज्यसँग गरिएको ३ बुँदे सहमति मध्य एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरुलाई मुक्त गर्ने छ । राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरुलाई समाधान गर्न मद्दत गर्नु पर्ने मुख्य अङ्ग अदालतले नै गैर कानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाड्न अदालत र न्यायधीस नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ ।’

उनले अदालतको गैरजिम्मेवार कार्यप्रति सरकार, राजनैतिक दलहरु, बुद्धिजीवी, मानवधिकारवादी, युवा विद्यार्थी, श्रमिक जनताको ध्यान पुगोस साथै ३ बुँदे सहमतिलाई यथासिघ्र लागु गर्न, मुद्दाहरु खारेज गर्न र बन्दी मुक्त गर्न सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन्। महासचिव विप्लवले गैरकानूनी, अराजक, विध्वंसात्मक कार्यको प्रतिरोध उत्रिन पार्टी पंक्ति एवं न्यायप्रेमी जनतालाई अपिल गरेका छन् ।

अदालतमा राज्यविरुद्धको कसुरमा चार वर्षअघि दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामाविरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको हो। ‘यो पक्राउ पूर्जीको सूचना प्रकाशित भएका मितिले बाटोका म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित तपाई आफैँ उपस्थित हुनुहोला’, उक्त पक्राउ पुर्जीमा भनिएको छ, ‘तपाईहरुले म्याद गुजारी बसेमा मुद्दा कानुन बमोजिम हुनेछ, पछि तपाईको उजुरबाजुर लाग्ने छैन।’अदालतको विसं २०८० मङ्सिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गर्न दिएको आदेशअनुसार सूचना प्रकाशित गरिएको बताइएको छ। विसं २०७६ असोज ९ गते निजहरुमाथि राज्यविरुद्धको मुद्दा दायर भएको थियो। प्रहरीले निजहरु फरार भएको भनेपछि अदालतले ३५ दिनभित्र पक्राउ पुर्जी जारी गर्न आदेश गरेको थियो ।

यो पनि पढ्नुहोस

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी