जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सामुदायिक सेवा केन्द्र कालिकाको लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

जन्मभुमि खबर ,
पोखरा ।

सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा कालिकाले लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

पोखरा २८ वडा कार्यालय, इलाका प्रहरी कार्यालय डाँडाको नाकको समन्वयमा र रत्न शोभा माध्यमिक विद्यालयको व्यवस्थापनमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सोमबार लैंगिक हिंसा सम्बन्धि सचेतनामुलक प्रशिक्षण कार्यक्रम भएको हो ।

सोही विद्यालयका कक्षा ९,१०,११ र १२ का विद्यार्थीहरुलाई दिइएको प्रशिक्षण कार्यक्रममा पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले सामुदायिक सेवा केन्द्रले विकृति विसंगति रहित सभ्य समाज निर्माणका लागि गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा सेवा केन्द्रले आयोजना गर्ने कार्यक्रममा वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

समाजमा हुने विभिन्न किसिमका हिंसा मानिसबाट हुने भएकाले यसको न्यूनिकरणका लागि मानिस आफै सचेत हुन जरुरी हुने बताउँदै विद्यार्थीले प्रशिक्षणमा सिकेका कुरा आफ्नो टोल टोलमा सिकाउनुपर्नेमा जोड दिए ।

सेवा केन्द्रका अध्यक्ष विकल केसीले सेवा केन्द्रले गरेका कार्यको वारेमा चर्चा गर्दै समाजमा हुने विभिन्न किसिमका हिंसा, विकृति विसंगति रोकथामका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी निरिक्षक एवम् प्रशिक्षक यमनारायण आर्यालले लैङ्गिक तथा घरेलु हिंसाको परिचय , लैंगिक हिंसाले समाजमा पार्ने असर, हिंसाको प्रकार, पिडितलाई हुन सक्ने सामाजिक तथा मानसिक असर, आर्थिक र यौनिक क्षतिका साथै कानुनी व्यवस्थाको लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

विद्यार्थीहरु, शिक्षकहरु, सेवा केन्द्रका कार्यसमिति सदस्य पुकार गौतम, प्रहरी कर्मचारी सहितको उपस्थित रहेको उक्त कार्यक्रमको संचालन प्रहरी सहायक हवलदार अशोक सापकोटाले गरेका थिए भने सेवा केन्द्रका अध्यक्ष विकल केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सेवा केन्द्रका मिडिया सल्लाहकार ऋषिराम रानाभाटले गरेका थिए ।