जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रुपा तालमा १० हजार र फेवातालमा ७ हजार माछाका भुरा छाडिए

जन्मभुमि खबर ,
पोखरा ।

विश्व मत्स्य दिवसका अवसरमा कास्कीको रुपा तालमा १० हजार माछाका भुरा छाडिएका छन् । मत्स्य अनुसन्धान केन्द्र पोखरा, रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था र नेपाल फिसिरिज सोसाइटीको सहआयोजनामा आज रुपा तालमा सो परिमाणमा माछाका भुरा छाडिएका हुन् ।

‘स्वदेशी माछाः पोषण र जीवकोपार्जनको आधार’ नाराका साथ स्वदेशी जातका माछाका भुरा छाड्ने र ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रमअन्तर्गत सहर, रहु र नैनी प्रजातिका माछाका भुरा छाडिएका हुन् । कार्यक्रममा मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा मो इकवाल हुसेनले तालतलैयाको संरक्षणसँगै रैथाने प्रजातिका माछाको संरक्षण गर्नु आवश्यक भएको बताउनुभयो । जलाशयको प्रदूषण हटाउँदै जलीय सन्तुलनलाई जोगाउन सबै सचेत बन्नुपर्ने उनले बताए ।

रुपा ताल मत्स्यपालनका साथै सिपिमा मोति खेतीका लागि उपयुक्त स्थल भएको उल्लेख गर्दै प्रमुख हुसेनले आगामी एक महिनाभित्रमा सिपिमा मोति खेती प्रविधिबारे तालिम प्रदान गरिने बताए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रैथाने माछाको संरक्षणसँगै तालको जलाधार क्षेत्र वरपर ताल संरक्षण हुने गरी बाली विकास गर्नु जरुरी रहेको बताए । उत्पादनसँग व्यक्ति तथा जनतसमुदायलाई जोड्नु आवश्यक भएको उल्लेख गर्दै उनले तालको संरक्षण र उपयोगमा सबैको सामूहिक प्रयास हुनुपर्ने बताए ।

कार्यक्रममा सिड फाउन्डेसनका पूर्वअध्यक्ष दामोदर भक्त थापा, वडा सदस्य देवेन्द्रराज अधिकारी, रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज अधिकारी, सल्लाहकारद्वय कुलप्रसाद अधिकारी र रामचन्द्र सापकोटालगायतले तालको संरक्षणसँगै रैथाने प्रजातिका माछाको संरक्षणमा जोड दिनुपर्ने बताए ।

फेवातालमा ७ हजार माछाका भुरा छाडिए

पोखरा फेवातालमा पनि माछाका भूरा छाडिएको छ । पोखरामा बल्छी खेल्नेहरू बिशेष गरी शहर माछासँग खेल्नेहरूको समूहबाट काली गण्डकी मत्स्य केन्द्रको सहयोगमा फेवातालमा ७ हजार माछाका भूरा छाडिएको हो ।

शनिबार स्थानीय बासिन्दा सैलेश रायमाँझी, राम परियार, हिमालय प्रोजेक्टका बेल्जियम निवासी पाउल भान्डे मोर्टेल लगाएतले शहर, गर्दी र कत्ले जातका माछाका भूरा तालमा छाडेका हुन् ।

उनिहरूले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै लोप हुदै गएका शहर, गर्दी र कत्ले जातका माछालाई ब्राण्डिङ गर्नु पर्ने बताए ।

लोप हुदै गएका माछाहरूको संरक्षण र व्राण्डिङ गर्न सके भावी पुस्तालाई चिनाउन सहज हुने उनिहरूको भनाई रहेको छ ।

बल्छी खेल्दा सहर माछासँग खेल्न साह्रै नै रमाईलो हुने हुँदा हामीले त खेल्न पाएका छौं, भावी पुस्ताले पनि खेल्न पाँउन भन्ने उद्देश्य महासीर जातको सहर माछालाई प्रत्येक बर्ष छोड़ने गरिएको अभियानका सदस्य सैलेश रायमाझीले बताए ।