जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

इमेज बचत तथा ऋण सहकारी : फरार मेयर देवकुमार नेपाली फेसबुक लाइभमा ज्यान मार्ने धम्की आएपछि घरबाहिर बसेँ

जन्मभुमि खबर ,
पोखरा ।

बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरेर भागेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै व्यक्तिगत सम्पत्ति बिक्रीको लागि वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत हुन् । तर, बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि उनी गत वैशाख पहिलो हप्तादेखि फरार थिए ।

यो सहकारीले निक्षेपकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ । नेपालीविरुद्ध प्रहरीमा समेत मुद्दा परेको छ । सरकारले पनि उनलाई गत जेठ ८ गते अध्यागमन विभागको निगरानी सूचीमा राखेको थियो । त्यसको तीन दिन अगाडिदेखि नै उनी सम्पर्कविहीन भएका थिए ।

तर, एक भिडियो जारी गर्दै उनले आफू र परिवारमाथि आएको धम्कीको कारण त्यहाँ बस्न सक्ने अवस्था नरहेको बताएका छन् । “बचतकर्ताहरुलाई आफूले सहकारीमा समस्या देखिएपछि सेयर सदस्य र बचतकर्ताको विशेष भेला राखेर बचत फिर्ता समाधान गर्न ६ महिना समय राखिएको थियो,” उनले भनेका छन् ।

तर, केही व्यक्ति घरमा हतियारसहित आई आफूसहित श्रीमती र सानो छोरीको ज्यान मार्ने धम्की दिने र ६ लाख बचत भएको व्यक्तिहरुले पाँच करोडको घरजग्गा आफ्नो नाममा पास गर्न दबाब दिएको कारण आफू केही समय घरबाहिर बस्न बाध्य भएको उनले प्रष्टीकरण दिएका छन् ।

यो समस्या इमेज सहकारीको मात्र नभई देशभरिकै समस्या रहेको उनको भनाइ छ । उनी भन्छन्, “मैले सबै बचतकर्ताहरुलाई अनुरोध गर्दछु कि, इमेज बचत सहकारीको समस्या मात्र नभई यो समस्या नेपालकै सबै सहकारीको समस्या हो ।”

बचतकर्तालाई रकम फिर्ता गर्न ढिला भएकोमा संस्थाको तर्फबाट क्षमा माग्दै उनले सबै मिलेर जानुपर्ने बताएका छन् । उनले भने, “म त्यहाँ नभएका कारणले धेरै टिकाटिप्पणी आएका छन्, मैले बुझेको छु । हामीहरु इमेज सहकारीको समस्या व्यावहारिक तरिकाले समाधान गर्नेतर्फ जानुपर्छ र जान खोजेका पनि छौँ ।”

व्यक्तिगत सम्पत्ति बेचेरै भए पनि सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता उनले दोहो¥याएका छन् । “कतिपय सहकारी १६ अर्बका पनि समस्या परेका छन्, मैले भन्नुभन्दा सबैलाई थाहा भएको कुरा हो । हामी घरजग्गा र सम्पत्ति नभएको मान्छे होइनौँ । हामीले चलअचल सम्पत्ति नुनदेखि सुनसम्म त्यहीँ नै राखेका छौँ, लिएर हिँडेका छैनौँ । यस विषयमा सबै शुभचिन्तकलाई जानकारी गराउँदछौँ,” उनले भने ।

सहकारी समस्याग्रस्त हुनुमा कर्मचारीको पनि हात रहेको आरोप उनले लगाएका छन् । नगरप्रमुख भएपछि सहकारीमा आफूले समय दिन नपाएको र बचतकर्ताले एकैपटक बचत फिर्ता माग्दा यो अवस्था आएको उनको भनाइ छ । राजनीतिक रुपमा पनि आफूमाथि प्रहार भएको आरोप उनले लगाएका छन् ।

“एकैपटक बचत फिर्ता लिन जाने हो भने बैंकहरुमा पनि समस्या हुन्छ । यो पनि सबैले बुझेकै हो,” उनले भने, “मलाई असफल पार्नका निम्ति राजनीतिक कुरा पनि जोडिएको छ । तर, अहिले यो विषयमा म बोल्न चाहन्नँ ।”

सहकारीबाट बचत फिर्ता गर्नको लागि संघर्ष समिति पनि गठन भएको छ । उक्त समितिलाई पनि वास्तविकता बुझ्न नेपालीले आग्रह गरेका छन् । इमेज सहकारीको समस्या समाधान गर्नको लागि संघर्ष समितिमा रहेका व्यक्तिहरुलाई उनले धन्यवाद दिएका छन् ।

उनले समितिका व्यक्तिहरुलाई खातामा १० हजार हुनेले १० लाख माग निवेदन गरेको, ५० लाख मुद्दतीमा राख्नेले ९० प्रतिशत कब्जा लगेको तर दाबी चाहिँ ५० लाखकै गरेको बताएका छन् । यसै कारणले इमेज सहकारीमा दुई अर्ब डिपोजिटको हल्ला चलेको छ । यो कुरा बुझ्न उनले समितिलाई आग्रह गरेका छन् ।

“कतिपय इमेजबाट ऋण लगेका साथीहरुले ऋण लगेका छैनौँ भनि अटेर गरेको अवस्था छ । संस्थाका कतिपय कर्मचारीले मनोपोली तरिकाले कर्जा लगानी गरी हामीमाथि दोष लगाइएको अवस्था पनि छ,” उनले भने ।

सहकारीको समस्या समाधान तथा हिसाब मिलानाको लागि आफ्नो सम्पत्ति बेचेर भए पनि ६ महिनाको समयमा हिसाब मिलान गर्ने समय मागेको बताउँदै उक्त समयमा हिसाब मिलान हुन नसकेको उनले स्वीकारे ।

“यो विषयमा सबैलाई अवगत छ, यो समयमा हिसाब मिलान हुन सकेन । केही साथीहरु ६ महिनासम्म बचत फिर्ता लिन पर्खन सक्नुभएन, घरमा आई डरधम्की समेत गर्नुभयो । त्यसकारण घरमा बस्ने वातावरण भएन,” उनले थपे, “अर्को कुरा, केही साथीहरुको अगुवाइमा मुद्दा दर्ता गर्ने काम पनि भयो । त्यसकारण म बाहिर निस्केर काम गर्ने अवस्था भएन । त्यहीकारणले ६ महिनाभित्र हाम्रो सम्पत्ति, घरजग्गाहरु बिक्री वितरण गर्ने वातावरण नभएको सबैलाई जानकारी गराउन चाहन्छु ।”

उनले आफ्नो र श्रीमतीको नाममा बुर्तिवाङ, पोखरा, काठमाडौंमा रहेको ४५ कित्ता जग्गामध्ये बुर्तिवाङमा सात, बागलुङमा दुई, पोखरामा तीन, काठमाडौंमा ६ गरी १८ वटा घर रहेको बताएका छन् ।

उनले ती ४५ कित्तामा भएको घरहरुको तस्बिर समेत सार्वजनिक गरेको बताएका छन् । यी सबै सम्पत्ति सहकारीबाट नभई व्यक्तिगत आम्दानीबाट खरिद गरेको उनको प्रष्टोक्ति छ । यी सबैको मूल्यांकन गर्दा तीन अर्बभन्दा बढी हुने उनको भनाइ छ ।

सहकारीको समस्या समाधान गर्नको लागि यी सबै घरजग्गा मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न चाहेको उनले बताएका छन् । यसका लागि वातावरण मिलाइदिनका लागि उनले स्थानीय प्रशासनदेखि सबै सम्बद्ध निकायलाई अनुरोध गरेका छन् । र, छिटै नगरपालिकाको काममा फर्किने उनको भनाइ छ ।

नेपाली संलग्न इमेज सहकारीविरुद्ध पीडितहरू ६ महिनादेखि सडकमा संघर्षरत छन् । बागलुङमा मात्रै झन्डै एक हजार ५०० बढी उक्त सहकारीबाट पीडित छन् ।

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । सुरुमा तरलता अभाव देखाएको सहकारीले पैसा हिनामिना पारेको बाहिरिएपछि बन्द भएको हो ।

उनी सम्पर्कविहीन हुँदा एक हजार ५५० भन्दा धेरै व्यक्तिको एक अर्ब ६० करोडभन्दा धेरै रकम अलपत्र परेको तथ्यांक छ ।

नेपालीसहित उनकी पत्नी र सहकारीका सञ्चालकविरुद्ध सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले उनीविरुद्ध जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेको छ ।