जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अवैध रुपमा अमेरिका पुगेका नेपाली युवाको अध्यागमन हिरासतमै मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

अवैध रुपमा अमेरिका प्रवेश गरेका नेपालका एक युवाको अमेरिकास्थित अध्यागमन हिरासतमा मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठको गत सोमबार हिरासतमै रहेका बेला मृत्यु भएको हो । उनी संगठित मानव तस्करमार्फत अवैध रुपमा अमेरिका छिरेका थिए ।

इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले टेक्सासस्थित कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा सुवासको मृत्यु भएको पुष्टि गरेको छ ।

स्वदेशी तथा विदेशी मानव तस्कर दलालहरुलाई करिब ८० लाख रुपैया बुझाएर उनी गत भदौ ७ मा अमेरिका पुगेका थिए । उनले कात्तिक २६ गते बेलुका घरमा फोन गरेर आफू अमेरिका आइपुगेको र अवस्था सहज रहेको बताएका थिए ।

नेपालबाट विभिन्न देश हुँदै अवैध रुपमा उनी असोजको दोस्रो साता मेक्सिकोबाट अमेरिकाको एरिजोना राज्यको लुकभिल पुगेका थिए । अमेरिका पुगेर घरमा फोन गर्दा उनले आफूसँग पश्चिम जिल्लाका दुई नेपाली साथीहरु पनि रहेको जानकारी दिएका थिए । अमेरिका छिरेपछि उनलाई त्यहाँको अध्यागमनले नियन्त्रणमा लिएर टेक्सासस्थित कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरको हिरासतमा राखेको थियो ।

हिरासतमै रहेका अवस्थामा कात्तिक २७ गते उनको मृत्यु भएको जनाइएको छ । उनलाई नेपाल डिपोर्ट गर्ने तयारी भइरहेको थियो । उनको मृत्युको खबर सुनेसँगै परिवार शोकमा डुबेको छ । साथै छिटो शव नेपाल ल्याउन परिवारले पहल थालेको छ । बाह्रबिसे नगरपालिका-६ का अध्यक्षसमेत रहेका कुलबहादुर श्रेष्ठका उनी छोरा हुन् । सुवासका श्रीमती र दुई सन्तान छन् ।