जन्मभुमि खबर
पोखरा ।
शनिवार निधन भएका कोलिन फिलिप स्मिथ उर्फ पुतली बाजेको अन्त्येष्टि गरिएको छ । पोखराको सेती नदीस्थित गाईघाटमा उनको पार्थिव शरीरलाई क्रिश्चियन परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।
त्यसअघि उनले स्थापना गरेको पृथ्वीनारायण क्याम्पस परिसरको पुतली संग्राहलय अगाडी उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो । पोखराका उच्च पदस्थ व्यक्तिहरूले उनलाई अन्तिम श्रद्धाञ्जली दिए ।
कोलिनले पुतलीको खोज र अनुसन्धानमा आफ्नो धेरै समय बिताएका कारण उनलाई पुतली बाजेको उपमा दिइएको हो । बेलायतमा जन्मिएका उनी युनाटेड मिसन अन्तर्गत नेपालमा शिक्षणका लागि आएका थिए । सन् १९६६ मा नेपाल आएका उनी त्यसपछि पूरै नेपालमै रहे ।
पोखरा र गोरखा काठमाडौँका विभिन्न विद्यालयमा अध्यापन गराए । उनको शनिवार बिहान ८८ वर्षको उमेरमा निधन भएको हो । उनले नेपालमा पाइने ६ सय ४० प्रजाति मध्ये ९० प्रतिशत सङ्कलन गरेका थिए ।
पछिल्लो २ वर्षयता पेटसम्बन्धी रोगका कारण बिरामी भएका उनको हरियो खर्क अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । स्मिथले ४० बढी जिल्लामा पुगेर सङ्कलन गरेको २५ हजार पुतली संग्राहलयमा राखिएको छ ।
पोखराका मेयर धनराज आचार्यले उनको शरीरमा नेपालको झन्डा उडाएर अन्तिम बिदाइ गरे । आचार्यले स्मिथको निधनले पोखराको शैक्षिक क्षेत्रले ठुलो क्षति व्यहोरेको बताए । उनलाई २०७६ सालमा नेपाल सरकारले सम्मानार्थ नागरिकता दिएको थियो ।