गुप्तेश्वर क्याम्पसमा सहकार्य र कार्यसम्पादन सम्बन्धी कार्यक्रम सम्पन्न
रमेश पोख्रेल / भाद्र २५ पोखरा । पोखराको छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा सोमबार ‘‘पोखराका उच्च शैक्षिक संस्थाहरुको सहकार्य र संस्थागत कार्यसम्पादनमा अभिवृद्धि’’ विषयक कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले विश्वविद्यालयले विद्यार्थीका गतिविधिलाई सजिलो बनाउनु पर्ने र राज्यले विद्यार्थीका लागि जिविकोपार्जनका लागि विभिन्न अवसरहरुको व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाली विद्यार्थीको विदेश पलायनका समस्या, उच्च शैक्षिक संस्था विचका सहकार्यता र ज्ञान व्यवस्थापनका अभ्यासहरु र उच्च शैक्षिक संस्थाका कार्यदक्षता सम्बन्धी विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागीहरुले पाठ्यक्रममा परिवर्तनको आवश्यकता, विश्वविद्यालयबाट प्रदान गरिने सेवाहरुको चुस्तदुरुस्तता, अस्थित राजनीतिक समस्या, स्वदेशमा रोजगारी तथा व्यवसायीको अवस्था, राज्यका नीतिगत अवस्था सम्बन्धीे आ–आफ्ना धारण राख्नुभएको थियो ।
सहभागीहरको तर्फबाट कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख सुरेश मानन्धरले यस्ता कार्यक्रमले संस्थाहरु विच भएका समस्या समाधान गर्न सहज हुने र यस्ता प्रकृतिका नयाँ कार्यक्रमहरु सवैले समय अनुसार गर्दै जानुपर्ने विषयमा आफ्नो धारण राख्नु भएको थियो । कार्यक्रमको निष्कर्षमा प्रा.डा. मिन पुनले उठेका विषयवस्तुहरु माथि संक्षिपिकरण गर्नुभएको थियो ।
कास्की जिल्लाका क्यू.ए.ए. प्राप्त क्याम्पसहरु पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालय स्कुल अफ विजनेश, बनविज्ञान क्याम्पस पोखरा, पोखरा नर्सिङ क्याम्पस, जनप्रिय क्याम्पस, कन्या क्याम्पस पोखरा र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस तथा उद्यमी व्यवसायी, सरकारी कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको स्वागत् मन्तव्य क्याम्पस प्रमुख धर्मराज बरालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन आइ.क्यू.ए.सि. प्रमुख राजकुमार सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको मध्यस्तता रेशमलाल पौडेलले गर्नुभएको थियो ।