एसिया कप : भारतविरुद्धको खेलमा नेपाल १० विकेटले पराजित
जन्मभुमि खबर ,
पोखरा ।
एसिया कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपाल १० विकेटले पराजित भएको छ।
२३१ रनको लक्ष्य दिए पनि वर्षाका कारण प्रभावित भएपछि भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियो।
तेस्रो ओभरको पहिलो बलपछि पानी परेसँगै खेल प्रभावित भएको थियो। त्यसपछि खेललाई २३ ओभरमा झारिएको थियो।
उक्त लक्ष्य पछ्याउने क्रममा भारतीय कप्तान तथा ओपनर रोहित शर्माले ७४ र शुभमिन गिलले ६७ रनको अविजित पारी खेले।
नेपालका करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले बलिङ गरे। यद्यपि कसैले पनि विकेट लिन सकेनन्।
त्यसअघि श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४८ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनायो।
नेपालका लागि आशिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको पारी खेले।
सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रन बनाउँदा कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए।
दीपेन्द्रसिंह ऐरीले २९, गुल्सन झाले २३ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराज तीन–तीन तथा मोहम्मद सामी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले समान एक–एक विकेट लिए।
पराजित भएसँगै नेपाल समूह चरणका दुवै खेल पराजित भएर स्वदेश फर्किनेछ भने भारत एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ।
नेपाल यसअघि पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। समूह ‘ए’बाट भारत र पाकिस्तान सुपर फोरमा गएका छन्।