गण्डकी प्रदेशसहित केही प्रदेशमा भारी वर्षा हुने
जन्मभुमि खबर ,
पोखरा ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज (शुक्रबार) बिहानसम्म गण्डकी, कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, कोशी, बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।
महाशाखाका अनुसार शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कोशी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
शुक्रबार राति देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।