राष्ट्रिय हेमजा आलु महोत्सव को तयारी अन्तिम चरणमा
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा–२५ हेमजामा ११औ आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेकोछ । चैत्र २६ गते देखी सुरु हुने उक्त महोत्सव २०८० बैशाख ३ गते सम्म सञ्चालन हुनेछ । “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ” “आलु एक परिकार अनेक” भन्ने मुल नारालाई आत्मसाथ गर्दै महोत्सव सञ्चालन हुनेछ ।
महोत्सवमा हेमजाले उत्पादन गरेको कृषि वस्तुहरुको प्रदर्शन गर्दै हेमजालाई व्यवसायिक कृषि पर्यटनको रुपमा चिनाउनेछ । महोत्सवमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुको विभिन्न परिकाहरु प्रदर्शन तथा प्रशिक्षण, कृषिका लागि माटो बोट विरुवा परिक्षण तथा रोक निधान, कृषक र कृषि सम्बन्धी विभिन्न साँस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शन, विविध सांस्कृतिक कार्यक्रम, विभिन्न कृषि उपज विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार कार्यक्रमहरु रहनेछ ।
हेमजा सामुन्द्रिक सतहदेखि १०८९ मिटरको उचाईमा अवस्थित छ । हेमजाको कुल क्षेत्रफल १२५०० हेक्टर रहेको छ भने ५९० हेक्टरमा आलु खेती गरिन्छ । यस खेतीमा यहाँका १०२२ घरपरिवार कृषिमा आधारित छन् भने ५४० कृषकले व्यवसायिक आलु खेती गर्दछन् । हेमजामा उत्पादित कृषिहरु आलु, काउली, गोलभेंडा, च्याऊ, घान, बन्दा साथै अन्य कृषिजन्य उत्पादनहरु हुन् । यसै विबिध कृषि उत्पादनको प्रबद्र्धन तथा कृषि पर्यटनको प्रचारप्रसारको लागी ११औं राष्ट्रिय हेमजा आलु महोत्सव २०७९ मुल आयोजक समिति तथा विष्णुपादुका क्लबको आयोजनामा सञ्चालन गरिदै छ ।