मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिने
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभाअन्तर्गत संसदीय दलको बैठकमा भोलि ३ बजे विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् ।
आज सर्वदलीय बैठक बस्दै छ‚’ उनले भनिन्, ‘बाँकी निर्णय त्यस बैठकबाट आउला । एमाले संसदीय दलको बैठकमा भोलि ३ बजे विश्वासको मत लिने निर्णय भएको छ ।’
मन्त्री सुन्दासले सरकारले छिटै नै विश्वासको मत लिएपछि अन्य प्रक्रिया अगाडि बढाउन सहज हुने बताएकी छन् । स्वतन्त्र सांसदसहित ३३ सांसदको समर्थनमा अधिकारी पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ ।
अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन थियो । अधिकारीलाई विश्वासको मत पाउन पनि सहज छ । अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । केन्द्रमा कांग्रेसले विश्वासको मत दिएपछि प्रदेशमा पनि कांग्रेससँग विश्वासको मत माग्ने तयारीमा मुख्यमन्त्री छन् ।