जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै संकटा क्लब सेमिफाइनल प्रवेश

जन्मभुमि खबर ,
पोखरा ।

आहा रारा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा संकटा क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालामा भएको खेलमा संकटाले आर्मीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

संकटाको जितमा दुई विदेशी खेलाडी स्टेफेन बिनोङ र मेसुकीले गोल गरे भने एक गोल सुरजज्यु ठकुरीले गर्न सके । आर्मीका लागि एक मात्र गोल नवयुग श्रेष्ठले पेनाल्टीमार्फत् गरे ।

आर्मीका लागि १५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए । तर संकटाका मेसुकीले गोल गर्दै संकटालाई खेलमा फर्काए । मेसुकीले खेलको ३५ औं मिनेटमा कप्तान सुनिल बलको पासमा गोल गर्न सके ।

७५ औं मिनेटमा संकटाले अग्रता लिन सक्यो । मेसुकीले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएपछि संकटाका सुरजज्यु ठकुरीले गरेको प्रहारले जाली चुम्यो ।

खेलको निर्धारित समयपछि थपिएको ६ मिनेटमा तेस्रो मिनेटमा संकटाले गोल थप्दै जित सुनिश्चित गर्‍यो । मेसुकीले काउन्टर अट्याकलाई बढाउँदा स्टेफेन बिनोङलाई पास दिए । आर्मीका गोलरक्षक विकेश कुथुले बल नियन्त्रणमा गल्ति गर्दा बिनाङले तेस्रो तथा निर्णायक गोल गरे ।

संकटाले सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफको सामना गर्नेछ । प्रतियोगिताको अन्तिम सेमिफाइनलमा मंगलबार मनाङ मर्स्याङ्दी र भुटानी युथ स्पोर्टसबीच खेल हुनेछ ।