जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक

जन्मभुमि खबर ,
पोखरा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक गरीएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रफि एक कार्यक्रमका बीच सोमबार विहान सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री पोखरेलले ट्रफि सार्जजनिक गरे लगत्तै पोखराका विभिन्न स्थलमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।

आज खेलाडी, प्रशिक्षक, व्यवस्थापक खेल पदाधिकारीहरु, विभिन्न पाहुना तथा सर्वासाधारणका लागि ट्रफि प्रदर्शन गरिएको हो । ट्रफिसहित खेल पदाधिकारी, विशिष्ट पाहुनाहरु सहित सवारी साधन बाट नगर परिक्रमा गराइने कार्यक्रम छ ।

पोखराको अम्मरसिंहचोक, रानीपौडा, महेन्द्रपुल, नदिपुर, पथ्वीनारायण क्याम्पस गेट, गणेश हार्डवयर चोक भित्र बजार हुँदै वगर चोक, बागबजार चोक, ठाडा लाइन, पुरानो टुडिखेल, हरिचोक, विन्ध्यवासिनी मन्दिरको माथिल्लो बाट परिक्रमाको लागि प्रवेश गराई अधिकारी टोल चोक, पुरानो खानेपानी काउन्टर, वाग्लुङ राजमार्ग हुँदै जिरो किलोमिटर र त्यहाँबाट हल्लन चोक बाराही मन्दिर चोकमा पोखरा महानगरका मेयर धनराज आचार्यले ट्रफि प्रदर्शन गर्दै सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफिको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफि बनाईएको हो । ट्रफिका डिजाइनर नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठ हुन् । यस्तै ट्रफ्रीलाई श्याम तुलाधारले बनाएका हुन् । ट्रफिमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफि आफुसँग राख्न पाउनेछ ।