जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाका विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दीखण्ड अवरुद्ध भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी दिए । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ ।

सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक मर्मत थालिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ ।

मुस्ताङमा उत्पादन भएको आलुलगायत कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन् ।

यसैबीच, वर्षाका कारण दानास्थित ज्ञानप्रकाश माविमा भलबाढी पसेर क्षति पुगेको प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए । शनिबार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएको उनले जानकारी दिए ।