जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जामा एक वर्षमा २७ सवारी दुर्घटना, ४० जनाको मृत्यु

१ वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले अकालमै ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी १७ पुरुष, १८ महिला, ४ बालक र १ बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीनबहादुर कुँवरले बताए ।

१ वर्षको अवधिमा १४ पुरुष, १५ महिला, २ बालक र २ बालिका गरी ३३ जना गम्भीर घाइते भएका थिए भने १५ जना मध्यम घाइते भएका थिए । आव २०७७/७८ मा स्याङ्जामा १६ सवारी साधन दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो । विभिन्न दुर्घटनामा १२ पुरुष, २ महिला, १ बालकको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते र ५ मध्यम घाइते भएका थिए ।
आव २०७७/७८ मा भन्दा गत आव २०७८/७९ मा २४ धेरैले ज्यान गुमाएका छन् ।

गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वालिङ १४ अर्खलवासस्थित ग्रामीण सडकमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । ग्रामीण भेगमा ट्राफिक प्रहरीको निगरानी पुग्न नसक्नु, यात्रु तथा चालकको लापरबाही, पुराना र मर्मत नगरिएका सवारी साधन, कच्ची र ग्रेडिङ नमिलेका ग्रामीण सडकका कारण पनि दुर्घटनामा वृद्धि हुँदै गएको देखिन्छ ।

जिल्लामा सवारी साधन दुर्घटना भई अकालमै धेरैको मृत्यु हुन नदिनका लागि ट्राफिक प्रहरीले आव २०७८/७९ मा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी ६ सय २ सचेतना कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख कुँवरले बताए ।
यो कार्यक्रममार्फत ४६ हजार ४० जना लाभान्वित भएको कार्यालयले जनाएको छ । आव २०७७/७८ मा पनि ४ सय १२ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ३३ हजार सात सय २५ जना लाभान्वित भएका छन् ।