बैकिङ कसुरमा फरार पोखराकी गुरुङ पक्राउ
नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २३ लाख १४ हजार २५० जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्च अदालत पाटनले रु २३ लाख १४ हजार २५० नगद र पाँच दिन कैद सजाय ठहर गरेका कास्कीको पोखरा महानगरपालिका–१७ घर भई हाल काठमाडौँको बाफल बस्दै आएकी ४२ वर्षीया निशा गुरुङलाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ गुरुङले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै चेक दिएर बैंकिङजन्य कसुर गरेकाले आज टोखाबाट पक्राउ गरिएको जानकारी दिए ।
अदालतले पक्राउ परेकी निशालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उक्त फैसला गरेको थियो । पक्राउ परेकी निशालाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताए ।