जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखि ३ महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

जन्मभुमि खबर ,

पोखरा ।

आज (कात्तिक १६ गते)देखि तीन महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएको छ ।

सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन् ।

गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण दुई दिन बिदा दिने निर्णय गरिएको भए पनि सरकारले त्यसलाई निरन्तरता दिँदै आएको छ ।

आजसम्म सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको छ। हिउँदमा ५ बज्दा झमक्कै साँझ पर्ने भएकाले कार्यालय समय एक घन्टा कम गर्न लागिएको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय साताको ५ दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने छ ।