जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा गाँजा खेती गर्न बाटो खुल्ला

जन्मभुमि खबर ,

पोखरा ।

गण्डकी प्रदेशसभाको बिहीबारको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने गाँजाको सही सदुपयोग गर्नका लागि ‘गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरेको छ । बैठकमा सभामुख कृष्णप्रसाद धितालले उक्त विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे ।

त्यसअघि आजको बैठकमा विधेयक छलफलका लागि उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले प्रस्ताव प्रस्तुत गरेकी थिइन् । छलफलमा प्रदेशसभा सदस्यहरू अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेल सहभागी थिए ।

विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा औषधि र औद्योगिक उत्पादनका लागि गाँजाखेती गर्ने बाटो खुलेको छ । विधेयकमा सरकारले तोकेको क्षेत्रमा गाँजाखेती गर्न पाइने प्रावधान छ । गाँजाको बोटमा पाइने नशालु पदार्थ ‘टीएचसी’को मात्रा शून्य दशमलव तीन प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था छ ।

गाँजाखेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ । गाँजाको बोट कटान र बिक्री गर्नुअघि त्यसको रासायनिक परीक्षण गर्नुपर्ने व्यवस्था विधेयकमा छ ।

खेती गर्न इच्छुकले तोकिएको क्षेत्रभित्र आफ्नो जमिन वा कम्तीमा ५ वर्षका लागि भाडा/लिजमा लिएको जमिनको विवरण, स्थानीय तहको सिफारिस, र उत्पादित गाँजा खरिद गर्ने सुनिश्चितता भएको स्थापित औषधि उद्योग वा उत्पादनमूलक उद्योगसँग गरिएको सम्झौता पत्र संलग्न गरी नियामक इकाइमा आवेदन दिनुपर्नेछ।