जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

कास्कीको बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली घर भई हाल पोखरा–१८, सराङकोटस्थित मामाघरमा बस्दै आएका अन्दाजी २२–२३ वर्षका कान्छा मगरको डुबेर मृत्यु भएको हो ।

बेगनास तालको रेस्क्यु टावरनजिकै पौडी खेल्ने क्रममा आज डुबेर बेपत्ता भएका थिए । युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल कालिका गणको हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल वलीको कमाण्डमा गोताखोरसहितको ११ जनाको टोली खटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सोमबार दिउँसो करिब साढे ४ बजेतिर घटनास्थल पुगेको उद्धार टोलीले तत्कालै खोजी कार्य सुरु गरी सवा ५ बजे तालको करिब २० फिट गहिराइबाट ती युवकलाई बाहिर निकालेको जनाएको छ ।

तालबाट बाहिर निकालिएका मगरलाई साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाइएको छ ।