जन्मभुमि खबर ,
पोखरा ।
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार राति करिब ९ः१० बजे शव फेला पारेको हो । मृतक पोखरा महानगरपालिका १५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री हुन् । उनी साँझ ७ बजेतिर पोखरा ६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली परिचालन भयो । टोलीले तालमा खोजी गर्ने क्रममा करिब २५ फिट गहिराइबाट अमरको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले यसबारे जानकारी दिए ।