जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा विश्व वातावरण दिवसमा वृक्षारोपण

जन्मभुमि खबर ,

पोखरा ।

विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका २३ बाम्दीमा बिभिन्न प्रजातिका एक सय भन्दा बढि बिरुवा रोपण गरिएको छ ।

गण्डकी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय वन निर्देशनालय पोखराको आयोजना तथा बाम्दी भीर सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा विरुवा रोपण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका मन्त्री नम्डु गुरुङले वन, वातावरण र जैविक विविधताको संरक्षण वर्तमान समयको प्रमुख आवश्यकता भएको उल्लेख गरे। उनले वातावरणीय सन्तुलन कायम राख्न र आगामी पुस्तालाई स्वच्छ तथा हरित वातावरण हस्तान्तरण गर्न सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

मन्त्री गुरुङले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न वृक्षरोपण प्रभावकारी माध्यम भएको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षणमा पनि समान रूपमा ध्यान दिनुपर्ने धारणा राखे।मन्त्रालयका सचिव मोहनराज काफ्लेले शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताए ।

उनका अनुसार सबैको सहयोगले जलवायुजन्यको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको, हरितगृह ग्याँसको उत्सर्जन कम गर्नु भनेको वनजङ्लको संरक्षण, संवद्र्धन र वन विकासमा टेवा दिने उद्देश्यले सिम्बोलिक रूपमा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको उल्लेख गरे ।

डिभिजन वन कार्यालय, कास्कीका प्रमुख कोमल राज काफ्ले वातावरण संरक्षण र जैविक विविधताको प्रवद्र्धनका लागि वृक्षरोपण अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए। उनले वन क्षेत्रको संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।वृक्षरोपण मात्र गरेर नहुने भन्दै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।

बन निर्देशक अशोक कुमार श्रेष्ठले सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह तथा सरोकारवाला निकायबीचको सहकार्यले वन संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा सोहि वडाका वडा अध्यक्ष रामकाजी गुरुङ,बाम्दीभिर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष सन्तोष थापा, बन अधिकृत सन्दिप पौडेल लगाएतको उपस्थिति थियो ।

प्लाष्टिकजन्य पदार्थले सगरमाथाको शिरदेखि समुन्द्र सतहसम्मको वातावरणमा समेत असर गर्ने हुँदा नेपाल सरकारले प्लाष्टिकको झोला, प्लास्टिकको माला निर्मूलको अभियान सुरु गरिसकेको छ ।

संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

यसैबिच विश्व वातावरण दिवसको अवसर गण्डकी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय परिसरमा जडित बायु प्रदुषण र ध्वनी प्रदुषण मापन गर्ने उपकरणको उद्घाटन गरिएको हो । उक्त उपकरणको वन तथा वातावरण मन्त्रालयका मन्त्री नम्डु गुरुङले उद्घाटन गरेका हुन् ।