पोखरा महानगरको अल्टिमेटम भोलि सकिँदै, सामान सार्न चटारो, (तस्बिरहरू)
जन्मभुमि खबर ,
पोखरा ।
पोखराको फिर्के खोला मिचेर अवैध
रूपमा निर्माण गरिएका भौतिक संरचनाहरू हटाउन पोखरा महानगरपालिकाले दिएको समयसीमा भोलि जेठ ९ गते सकिँदैछ ।
महानगरको कडा चेतावनी र अन्तिम समय नजिकिएसँगै खोला आसपासका क्षेत्रमा मिचेर बनाइएका घर, टहरा र व्यावसायिक संरचनाका धनीहरूले आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्न थालेका छन् ।

महानगरपालिकाले फिर्के खोलाको प्राकृतिक बहावलाई असर पार्ने गरी र मापदण्ड विपरीत निर्माण गरिएका सबै प्रकारका संरचनाहरू आफैँ हटाउन यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो । निर्धारित समयभित्र संरचना नहटाए महानगर आफैँले डोजर चलाएर भत्काउने र त्यसको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने नीति लिएपछि स्थानीयहरू आफैँ सामान व्यवस्थापन गर्न हतारिएका देखिन्छन् ।

फिर्के खोलाको वास्तविक अवस्था पत्ता लगाउन महानगरले सर्वेक्षक वासुदेव पौडेलको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको थियो । समितिले २०८० साउन ३ गतेदेखि भदौ २ गतेसम्म फिल्डमै खटिएर २०३२ सालको नापी नक्सालाई समेत आधार मानेर नापजाँच गरेको हो ।

पोखरा महानगरपालिकाको वडा नम्बर १८ अँधेरीकुनाबाट सुरु भई वडा नं. २, ४, ५, ७, ८, ६ हुँदै १७ नम्बर वडाको गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ । नापजाँचका क्रममा फिर्के खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो र ४ मिटरदेखि ९ मिटरसम्म गहिरो रहेको रिपोर्ट निकालिएको छ ।

खोलाको वास्तविक सिमाङ्कन छुट्याउन प्राविधिक टोलीले खोलाको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ गरी जम्मा ५८८ वटा सीमा स्तम्भ पनि गाडेको छ ।