जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पृथ्वीचोकस्थित हङकङ बजार अगाडिका विभिन्न संरचनामा आज डोजर चल्ने

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित हङकङ बजार अगाडिका विभिन्न संरचनामा बिहीबार डोजर चलाउने भएको छ । उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न संघ संस्थाले संरचना ठड्याएका छन् ।

सहारा क्लब पोखरा, सामुदायिक प्रहरी सेवा, जिफन्ट गण्डकी, नेपाल ट्रेड युनियन काँग्रेस, हिमाली सांस्कृतिक परिवारको भवन, पसलहरू, सार्वजनिक शौचालयसमेतका संरचना भत्काइने तयारी छ । पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न यसअघि सार्वजनिक सूचना जारी गरेकोमा त्यसको म्याद सकिएको हो ।

बिहीबार बिहान ११ बजेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि समेतको सहयोगमा ३ डोजर चलाइने तयारी छ । यसअघि, सूचनाबमोजिम कतिपयले संस्थाले आफ्ना भवन तथा संरचना खाली गराइसकेका छन् । सहारा क्लबले आफ्ना सामान दोबिल्लास्थित सहारा एकेडेमीमा लगेको छ । जिफन्ट, ट्रेड युनियन काँग्रेस, सामुदायिक प्रहरी सेवा, हिमाली सांस्कृतिक परिवारसमेतले आफ्ना सामान धमाधम सारिरहेका छन् ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक र आसपासको जग्गा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले लामो समयदेखि भोगचलन गर्दै आएका थिए । यसैबिच, फिर्केखोला घरको मापदण्ड मिचेर बनाइएका अवैध संरचनामध्ये १ सय ५ संरचना भत्काइसकिएको छ । यहाँ कुल १ सय ६० संरचनामाथि डोजर लगाइने महानगरले जनाएको छ । बुधबार चौथो दिनसम्म दुई तिहाइ संरचना भत्किसकेका छन् ।