जन्मभुमि खबर ,
पोखरा ।
पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन सुरु भएको आज चौथो दिनसम्मा खोलाघरभित्रका १०५ संरचना हटाइएको छ । पोखरा महानगरपालिकाले यही जेठ १० गतेदेखि फिर्केका तीन स्थानबाट डोजर चलाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो ।
महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले चौथो दिनसम्म साना ठूला गरी व्यक्तिगत तथा संस्थागत गरी १०५ संरचना भत्काइएको जानकारी दिए ।
उनका अनुसार बुधबारमात्र साना ठूला गरी २३ वटा संरचना हटाइएको छ । पोखरा महानगरपालिका वडा नं १८ र २ को सिमाना क्षेत्रमा आठ वटा संरचना हटाइएको छ भने वडा नं ४ र ५ को क्षेत्रमा एक वटा पक्की र तीन वटा कच्ची संरचना भत्काइएको छ ।
फिर्केखोलाको खोला घर खाली गरिसकेपछि त्यसलाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना छ । साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवर्द्धन र लाइटिङसहितको सुरक्षित पर्यटनका रूपमा फिर्केको विकास गर्ने योजना छ ।