जन्मभुमि खबर ,
पोखरा ।
काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ)छवि रिजाल पक्राउ परेका छन् ।
उनलाई काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको सुविधानगरबाट मंगलबार बिहान पक्राउ गरेको हो ।
कार्यालयका एक अधिकारीले रिजाल पक्राउ परेको जानकारी नेपालखबरलाई दिए ।
गत भदौ २३ र १४ गते भएको जेनजी आन्दोलनको बेला रिजाल काठमाडौँको सीडीओ थिए ।
गत भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जेनजी आन्दोलन जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगले आन्दोलनमा नागरिकको ज्यान जानुमा रिजाललाई पनि दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।
आयोगले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार छानबिन गर्न सिफारिस गरेको थियो ।
२३ भदौमा बानेश्वरमा १९ जना किशोरको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको आलोचना हुँदै आएको छ ।
बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले जेनजी आन्दोलनमा घातक दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई गएको शनिबार पक्राउ गरेको थियो । आयोगले ओली र लेखकलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाउन सिफरिस गरेको थियो ।
तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि तत्काल पक्राउ गरेर अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ। तर, दुवाडी भने पक्राउ परेका छैनन् ।
बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षा निकायबाहेक अरुको हकमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। जसमा कारबाहीको सूचीमा दुवाडी र रिजाल दुवै छन् ।
यसअघि गृह मन्त्रालयले प्रतिवेदन कार्यान्वयनका लागि पठाएको पत्रमा भने पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई मात्रै पक्राउ गर्न निर्देशन दिएको थियो। पूर्वगृहसचिव दुवाडी भने अवकास भइसकेका छन् ।
रिजाल भने अहिले पनि कार्यरत छन् ।
कार्की आयोगले तत्कालीन सुरक्षा निकायका प्रमुखहरुलाई पनि कारबाही गर्न सिफारिस गरेको छ तर, सरकारले सुरक्षाकर्मीलाई भने तत्काल कारबाही नगर्ने नीति लिएको छ। उनीहरूको हकमा अध्ययन गर्न अर्को समिति बनाउने र उक्त समितिको सिफारिस अनुसार गर्ने निर्णय सरकारले गरेको छ ।
ओली र लेखकसँगै रिजाल पनि पक्राउ परेपछि अब तत्काल पक्राउ पर्नेमा सूचीमा दुवाडी छन् ।
पक्राउ परेकै दिनदेखि पूर्वप्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा छन् । उनलाई स्वास्थ्यका कारण अस्पतालमै राखिएको छ ।
लेखकलाई भने प्रहरी कार्यालयमै राखिएको छ। लेखकलाई अदालतमा उपस्थित गराइसकिएको छ। ओलीलाई उपस्थित नगराइ भिडिओ कन्फ्रेन्समार्फत नै म्याद थप गरेर प्रहरीले अस्पतालमा राखेको छ ।