जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आरुषको स्मृतिमा विपन्न बालबालिकालाई सहयोग

जन्मभुमि खबर ,

पोखरा ।

स्वर्गीय आरुष सुवेदीको ४५औं दिनको पुण्य तिथिको स्मृतिमा पोखरामा रहेका विपन्न तथा असहाय बालबालिकाहरूलाई खेलकुद सामग्री, शैक्षिक सामग्री (स्टेशनरी) र खाद्य सामग्री वितरण गरिएको छ ।

१० वर्षको कलिलो उमेरमा उपचारका क्रममा गत माघ २५ गते निधन भएका सुवेदीको स्मृतिमा उनको परिवारद्वारा स्थापित आरुष स्मृति सहयोग फाउण्डेसन मार्फत सो सहयोग हस्तान्तरण गरिएको हो ।

आरुषकी आमा सपना रेग्मी सुवेदीका अनुसार छोराको सम्झनामा समाजमा रहेका विपन्न, असहाय र बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

इन्द्रेणी चिल्ड्रेन होममा सहयोग हस्तान्तरण
फाउण्डेसनले पोखरा–६, बैदाममा रहेको रेन्वाे चिल्ड्रेन होममा आश्रित बालबालिकाहरूलाई सामग्री वितरण गरेको छ ।
क्षेत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्ण बहादुर थापा ,पृथ्वी यातायात सहकारी संस्थाका सचिव पुष्प राज पौडेल , लायन्स डिस्ट्रिक्ट ३२५ K का डिस्ट्रिक्ट संयोजक राधिका थापा ,यातायात व्यवसायी रमेश कुमार श्रेष्ठ, रामचन्द्र गिरी र अनिल थापा लायन्स क्लब अफ पोखरा गोल्डेन फिस्टेल सिटीका सचिव अर्जुन अर्यालको उपस्थिति रहेको थियो ।

२२ जना बालबालिका लाभान्वित

सहयोग सामग्री ग्रहण गर्दै रेन्वाे चिल्ड्रेन होमका सञ्चालक कुसुम ढकालले सहयोगप्रति आभार व्यक्त गरे । हाल यस आश्रममा परिवारबाट विमुख भएका ७ महिनादेखि २१ वर्षसम्मका २२ जना बालबालिकाहरू आश्रित छन् ।

होमकी मुख्य सञ्चालिका गोमा ढकालले बालबालिकाको शिक्षामा फाउण्डेसनले गरेको सहयोगले ठूलो राहत पुग्ने बताउनुभयो। सहयोग वितरण कार्यक्रममा सुवेदी परिवारका सदस्यहरूका साथै बालबालिका र स्थानीयको उपस्थिति रहेको थियो ।