जन्मभुमि खबर ,
पोखरा ।
पोखराको फेवातालमा माछा मार्ने क्रममा लोड गरिएको अवस्थाको एक थान ‘सेल्फ लोडिङ राइफल’ (एसएलआर) फेला परेको छ । बिहीबार दिउँसो पोखरा महानगरपालिका–१८ खपौदीस्थित तालमा स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हान्दा उक्त हतियार फेला परेको हो ।
तालमा माछा मार्ने क्रममा जालमा गह्रौँ वस्तु अड्किएपछि तान्दा हतियार देखिएको भन्दै जलारीले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट टोली खटिएको थियो ।
प्रहरीका अनुसार बरामद हतियारमा ‘मु वा १११ (बट) नम्बर बडी नं. १३८१०’ उल्लेख छ। उक्त एसएलआरमा १८ राउण्ड गोली लोड गरिएको म्यागजिनसमेत फेला परेको कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।’माछा मार्ने जालमा अड्किएर एसएलआर राइफल र गोली लोड भएको म्यागजिन बाहिर निस्किएको देखिन्छ,’ डीएसपी बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बरामद हतियारबारे प्रारम्भिक अनुसन्धान गरी थप प्रक्रिया अगाडि बढाइएको छ।’