जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने ५ बस चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
सोमबार बिहान विद्यार्थी लिन जाने क्रममा रहेका बसहरू जाँच गर्दा मापसे गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।
ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङ टोलीले पोखराका विभिन्न स्थानमा आज बिहान सवारी साधनको जाँच गरेको थियो ।
पक्राउ पर्नेहरूमा माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नम्बरको बस चालक ३३ वर्षीय आन्नद परियार रहेका छन् । उनी पोखरा महानगरपालिका १५ का बासिन्दा हुन् । त्यस्तै, पोखरा ५ प्रस्याङ बस्ने ३७ वर्षीय गौतम गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनी कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नम्बरको बसका चालक हुन् ।
प्रहरीले विध्यश्वेरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नम्बरको बस चालक ४४ वर्षीय भक्त बहादुर गुरुङलाई पनि मापसे गरेको अवस्थामा फेला पारेको छ । उनी पोखरा १५ का बासिन्दा हुन् । यस्तै, पोखरा १६ बस्ने ४८ वर्षीय डम्बर बहादुर गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनी अञ्जली बोर्डिङ स्कुलको ग १ क ६४०३ नम्बरको बस चालक हुन् ।
एस.ओ.एस बोर्डिङ स्कुलको ग १ क ६४३३ नम्बरको बस चलाउने ४७ वर्षीय पदम बि.क.लाई पनि प्रहरीले पोखरा १० रामबजारबाट नियन्त्रणमा लिएको छ । ‘विद्यार्थीको सुरक्षामा गम्भीर लापरवाही गर्दै मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई कानुन बमोजिम कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।
स्कुल बस जस्तो संवेदनशील क्षेत्रमा चालकहरूले देखाएको यस्तो गैरजिम्मेवारपनले दुर्घटनाको जोखिम बढाएको भन्दै प्रहरीले चेकजाँचलाई थप कडा बनाउने जनाएको छ ।
पक्राउ परेका सबै चालकहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखी आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।