जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा माओवादी कार्यकर्ता भन्दै डरधम्की देखाएर चन्दा असुल्ने २ जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

माओवादी कार्यकर्ता भन्दै डरधम्की देखाएर चन्दा असुल्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

नेकपा बहुमतका केन्द्रीय सदस्य व्यास नगरपालिका–१३ छाब्दी बस्ने ३२ वर्षका लक्ष्मण पाण्डे र कास्कीको माछापुच्छ्रे गाउँपालिका २ का ३७ वर्षीय भीमसेन परियार पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट चन्दा असुलीमा प्रयोग भएका सामग्री र नगदसमेत बरामद गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गण्डक ब्युरो लेखिएको रसिद प्रहरीले बरामद गरेको हो । उक्त रसिदबाट विभिन्न व्यक्ति र संघ संस्थाको नाममा काटिएका १५ थान अर्धकट्टीसमेत भेटिएको छ ।

प्रहरीले उनीहरूबाट जातवार्ता ‘आहुती’ लेखिएको १ थान पुस्तक, २ थान डायरी र ३ थान मोबाइल फोनसमेत नियन्त्रणमा लिएको सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई चन्दा ऐनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

कास्की जिल्ला अदालतले उनीहरुलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । निर्वाचनको मुखमा चन्दाका नाममा चन्दा असुली र त्रास फैलाउने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको उनले बताए ।