जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा प्रहरीको हतियार लुटपाट गर्ने २ जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा प्रहरी कार्यालयबाट हतियार लुटपाट गरी लुकाएर राख्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरी लुटिएको ईन्सास राइफल समेत बरामद गरेको हो ।

पक्राउ पर्नेहरूमा महोत्तरी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजार बस्ने १८ वर्षीय रवि चौधरी र भारत घर भई हाल पोखरा वडा नम्बर २ अर्चलवोट बस्ने १८ वर्षीय राज कुमार छन् । उनीहरूलाई विशेष सूचनाको आधारमा पोखरा महानगरपालिका वडा नम्बर २ भीमसेन टोलबाट नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा उनीहरूले प्रहरी कार्यालयबाट हतियार लुटेर लगेको अनुसन्धानबाट खुलेको छ । प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा उनीहरूले उक्त हतियार पोखरा वडा नम्बर २ भीमसेन टोलस्थित इन्द्रबहादुर भारीको घर टहरोमा रहेको दाउराको खलियामा लुकाएको स्वीकार गरेका थिए । सोही जानकारीका आधारमा प्रहरी टोलीले खानतलासी गर्दा दाउराको बीचमा लुकाई राखेको अवस्थामा ५.५६ एमएम एम३२२६ लेखिएको ईन्सास राइफल फेला पारेको हो ।

कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट हातहतियार खरखजना सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । ‘हतियार लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले खोजतलास गर्दा राइफल बरामद भएको हो,’ बस्नेतले भने ।

प्रहरीले उनीहरूलाई गत पुस १९ गते दिउँसो ३:५५ बजेको समयमा नियन्त्रणमा लिएको थियो । आन्दोलनको मौका छोपेर हतियार लुट्ने र लुकाउने कार्यमा संलग्न उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।