पोखराबाट हिजै ७ बेलुका बजे छुटेको थियो दुर्घटनामा परेको बस
जन्मभुमि खबर ,
पोखरा ।
आज बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।
उनका अनुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उनले जानकारी दिए । ‘प्रहरीबाट प्राप्त जानकारी अनुुसार गाडीमा सवारमध्ये हालसम्म १९ जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन् ।’, उनले भने ।
उक्त बसको चालक सुजित नेपाली रहेको र उनको अवस्था पनि हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिए । उनका अनुसार घाइतेहरूको ट्रमा सेन्टरसहित काठमाडौँका हस्पिटल र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । घटनास्थलमै १७ जना र थप २ जनाको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । घाइतेहरूको धादिङ र काठमाडौँमा उपचार भइरहेको बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।